Habre Nepal
Chicken Meat

बोइलर कुखुराको मासुको मूल्य १० दिनमै १ सय ३० रूपैयाँले बढ्यो

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय Leave a Comment

सामाखुसीमा बस्ने यादव पाण्डेको घरको भान्सामा प्राय मासु पाक्छ। उनी मासु बिना खाना रूचाउँदैनन्। यसो तरकारी किनौं न त भनेर बाहिर निस्क्यो, मासु पसल नजिकै भएर होला मासु किन्नेतिरै आफ्नो ध्यान जाने उनी बताउँछन्।

तर आजभोलि कुखुराको मासुको मूल्य बढेको देख्दा उनलाई अचम्म लाग्न थालेको छ।

‘सागको मूल्य बढ्दा सागभन्दा कुखुराको मासु किन्न सस्तो भन्दै मासु नै खाइन्थ्यो, अहिले त मासुको मूल्य दिनदिनै बढ्दै गएको छ,’ उनले भने, ‘माघे सङ्क्रान्तिमा प्रतिकेजी २ सय ९० रूपैयाँमा किनेको थिएँ र एक हप्ताअघि पनि त्यति नै पैसा लिएर गएको ३ सय ४० पो भने, आजभोलि त ४ सय १० रूपैयाँ पुगेको छ।’

उनी त प्रतिनिधि पात्र मात्र हुन्। हामी सबैले यस्तै परिस्थिति भोगेका छौँ।

पुस अन्तिम हप्ता प्रतिकेजी २८० रूपैयाँ रहेकाे कुखुराको मासु अहिले प्रतिकेजी ४१० देखि ४२० रूपैयाँसम्म पर्छ।

सामाखुसीमा रहेको चोधरी मिटमार्टका अनुसार माघको पहिलो हप्तादेखि मासुमा अत्यधिक मूल्यवृद्धि हुँदै गएको छ।

माघ पहिलो हप्तासम्म मासु प्रतिकेजी २८० देखि ३०० रूपैयाँसम्म थियो। दोस्रो हप्ता ३६० देखि ३७० सम्म पुग्यो। तेस्रो हप्ता आइपुग्दा ४१० देखि ४२० रूपैयाँसम्म पुगेको मार्टका व्यवस्थापक डम्बर चौधरीले बताए। तीन सातामै १ सय ३० रूपैयाँले मूल्य बढेकाे छ।

मासुको मूल्य वृद्धिमा आफ्नो हात नहुने उनी बताउँछन्।

‘ग्राहक हामीले नै मूल्य बढाए जसरी रिसाउँछन्। हामीले मूल्य वृद्धि गर्ने होइन, हामीले कोल्ड स्टोरबाट किनेर ल्याउने हो। उनीहरूले नै बेच्ने मूल्य निर्धारण गरिदिन्छन् । हामीले पर्ने मूल्यमा ३०–३५ रूपैयाँ नाफा राखेको हुन्छ’, उनले भने।

मङ्सिर २९ देखि पुस ८ गतेसम्म ह्याचरी उद्योग संघले चल्ला उत्पादन नगर्ने घोषणा गरी करिब ५० लाख चल्ला र ५० करोड मूल्य बराबरको अण्डा नष्ट गरेका थिए।

१० दिनमा हुने करिब ६० लाख चल्ला उत्पादन नभएपछि बजारमा मासुको कृत्रिम अभाव सिर्जना भई मूल्य बढेको जानकारहरू बताउँछन्।

काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको थियो।

साभार: सेतोपाटी