Hamro Shringar
Fire In Australia

भयानक डढेलोपछि अस्वस्थ्य अस्ट्रेलिया !

Reporter Furshad अन्तर्राष्ट्रिय, अस्ट्रेलिया

काठमाडौँ — सेप्टेम्बरबाट सुरु भएको डढेलोको कारण अस्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । हालसम्म दुई दर्जन मानिसहरुले ज्यान गुमाएका छन् भने करिब ५० करोड वन्यजन्तु तथा चराचुरुंगीहरु डढेलोमा परेर मारिएका छन् । अहिले अस्ट्रेलिया अस्वस्थ्य बनेको छ ।

डढेलोको कारण जीवहरुको अस्तित्व नै संकटमा पर्न गएको इकोलोजिस्टहरुले बताएका छन्। बासस्थान नै विनाश भएपछि अस्तित्व संकटमा पर्ने देखिएको हो। पृथ्वीको सबैभन्दा फरक किसिमको भौगोलिक एवं जैविक विविधता भएको अस्ट्रेलियामा डढेलो लाग्नु सामान्य नै भएपनि यसपालिको डढेलोले धेरै लामोसमयसम्म हुँदा विनाश पनि धेरै गर्यो । स्तनधारी, सरिसृप र चराचुरुंगीहरु गरेर ५० करोड मरेको अनुमान गरिएपनि स–सना जीवहरु कति मरे भन्न सकिने अवस्था नै छैन।

त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले डढेलो नियन्त्रणका लागि ३ हजार रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेका छन्। अस्ट्रेलियाको इतिहासमा यो सबैभन्दा ठूलो डढेलो भएको त्यहाँका रक्षामन्त्रीले बताएका छन्। विकासित मुलुक भएरपनि होला यस्तो ठूलो विपत्तिमा ठूलो मानवीय क्षति भने भएको छैन।

अस्ट्रेलियामा किन फैलिन्छ डढेलो?
जंगलमा डढेलो लाग्छ। पालुवाका लागि फाइदाजनक पनि हुन्छ। झाडी सफा हुने भएकाले यसले अन्य प्रजातिको विकासमा सघाउ पुर्‍याउँछ। त्यहाँका केही प्रजातिका बिउ अंकुरणका लागि ताप ‘हिट’ आवश्यक पनि पर्छ।अस्ट्रेलियामा संसारकै सबैभन्दा फरक किसिमको भू–वनावट, हावापानी र जैविक विविधता पाइन्छ। तटीय क्षेत्र बाहेक अन्य क्षेत्रहरु प्रायः सुख्खा छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातवरण विभागका उप–प्राध्यापक डा. मनकुमार धमला भन्छन्, ‘अस्ट्रेलिया गर्मी हुने क्षेत्र हो। सुख्खा क्षेत्र धेरै हुँदा आगो चाँडै फैलने सम्भावना हुन्छ।’

यसका अलवा ज्यादा हिट वेभ, जलवायुमा आएको परिवर्तन, जंगलमा भएको बायोमास, पुराना रुखहरुले पनि डढेलोको अर्को कारण हो। तीनदशकदेखि पर्यावरण र फरेस्ट्री सम्बन्धि अध्ययापन गर्दै आएका प्राध्यापक अमूल्य रत्न तुलाधारको बुझाईमा त्यहाँ डढेलो फैलनुको अर्को कारणमा त्यहाँ पाइने रुखहरुलाई पनि लिन्छन्।

उनी भन्छन्,‘ यूकालिप्टस प्रजातिका रुखका कारण पनि आगो छिटो फैलिन्छ। नेपालमा यो प्रजातिको रुखलाई मसला भनेर चिनिन्छ। सुख्खा तथा कम पानी पर्ने क्षेत्रहरुमा यो प्रजाति भेटिन्छन्। यिनीहरुको पात र अन्य भागमा तेल जस्तो चिप्लो चोप हुन्छ। जसका कारण रुखबाट धेरै पानी निस्कन (ट्रान्सपिरेसन) पाउँदैन। उक्त चोपले छिटै आगो टिप्ने सक्ने क्षमता राख्छ। त्यही भएर पनि आगो चाँडै फैलन सक्छ।’

अस्ट्रेलियामा बढ्दो सुख्खा र तापक्रम परिवर्तनले पनि डढेलोमा सघाउ पुर्‍याएको त्रिविका सह–प्राध्यापक एवं जलवायु विज्ञ डा. सुदीप ठकूरीको भनाइ छ। पुरानो र सुकेको रुख, सुख्खा जमिन, मानवीय अतिक्रमणले पनि डढेलो लागेको हुनसक्ने विज्ञहरु बताउँछन्। पुरानो जंगलमा रुखहरुबीच घर्षण हुँदा पनि आगलागी हुने गर्छ। जंगलमा हुने प्रज्जवलनशील पदार्थ र बायोमासले डढेलोमा पनि प्रभाव पार्छ। हावाको बहाव र वातवरणीय अवस्थाले पनि अगालागीको अवस्था निम्त्याउने गरेको छ।

यसले अस्ट्रेलियालाई मात्रै असर गर्छ कि सिंगो विश्वलाई?
अस्ट्रेलिया एक टापु मात्रै नभएर महाद्विप पनि हो। न्यू साउथ वेल्सस्थित मक्योरी विश्वविद्यालयमा कन्जर्भेसन बायोलोजीमा स्नातकोत्तर गरिरहेकी निशा तामाङ अस्ट्रेलियाको डढेलोले सिंगो वायुमण्डलाई नै असर पुगेको बताइन्। उनले भनिन्, ‘यसले यहाँको वायुमण्डलाई मात्रै नभएर स्थानीय मौसम प्रणालीलाई पनि असर गर्छ। प्रदुषण बढाएको छ। पुरानै अवस्थामा यहाँको वातवरणलाई फर्काउन निकै नै समय लाग्छ।’

अस्ट्रेलियाको घटना मानवीय अतिक्रमण, जलवायु परिवर्तन, अत्याधिक सुख्खा, खडेरीका कारण भएको क्षतिको एउटा उदाहरणको रुपमा पनि लिइन्छ। त्यहाँका बढ्दो कोइला तथा अन्य खनिज पदार्थको उत्खनन्ले पनि वातवरणीय विनाश हुने गरेको छ। जैविक विविधतामा भएको क्षति पैसामा तुलना गर्न निकै कठिनाई हुन्छ। यो घटनाले पारिस्थितकीय प्रणालीमा असर गरेको छ। यसका अलवा जीवजन्तु तथा चराचुरुंगीको अस्तित्व खतरामा पर्छ।
यो घटनाबाट पुरानै अवस्थामा फर्काउन (रिस्टोरेसन)का लागि सयौं वर्ष लाग्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन्।

कस्तो छ अस्ट्रेलियाको भूगोल?
पृथ्वीको दक्षिणी गोलार्धमा अवस्थित अस्ट्रेलियाको बीच भएर मकर रेखा जान्छ। चारैतिर महासगरले घेरिएको अस्ट्रेलिया महाद्विपको तटीय क्षेत्रहरुमा बसोबास ज्यादा छ। यसमा अझ पूर्वी र दक्षिणी तटीय क्षेत्रमा बाक्लो बसोबास छ। यिनै क्षेत्रमा राजधानी केनबेरा, सिड्नी, मेलबर्न, एड्लिलेड, ब्रिसबेन जस्ता सहरहरु छन्। पश्चिम दक्षिणी क्षेत्रमा पर्थ छ।

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा एउटा लामो पर्वत श्रंखला छ। उत्तरदेखि तल दक्षिण क्षेत्रसम्म फैलिएकोको यो पहाडलाई ‘ग्रेट डिभाइडिङ रेन्ज’ भनेर चिनिन्छ। पूर्वबाट बहने हावा यसले रोकिदिन्छ, जसका कारण पूर्वी क्षेत्र धेरै ओसिलो छ र पानी पर्छ। पश्चिमी क्षेत्रमा कम .पानी पर्ने र ज्यादा सुख्खा हुने गरेको छ। कम पानी पर्ने भएकाले पश्चिमी क्षेत्रमा मरुभूमि छन्।

पश्चिमी क्षेत्रमा भिक्टोरिया मरुभूमि छ। डिभाइडिङ रेन्जको पश्चिमी क्षेत्रमा खेती हुने क्षेत्र छ जसलाई ‘डाउन्स’ भनिन्छ। यो गहिरो क्षेत्र हो। यी क्षेत्रहरु जैविक विविधतामा धनी रहेको अमूल्यरत्न प्राध्यापक तुलाधारले बताए।
अस्ट्रेलियामा पृथ्वीमा पाइने तीनै प्रकारका स्तनधारी जीवहरु पाइन्छन्। काख ‘पोच’मा राखेर बच्चा हुर्काउने कंगारु जस्ता ‘मार्सुपियल’, अन्डा पारेर दूध चुसाउने प्लेटिप्स जस्ता ‘मोनोट्रिम्स’ र गर्भमा हुर्कने मानव जाति जस्ता ‘प्लासेन्टियल’ जीवहरु पाइन्छन्।

यसरी बन्यो अस्ट्रेलिया, यसकारण जैविक विविधतामा धनी
पृथ्वीका ‘टेक्टोनिक प्लेट’हरु सर्ने किसिमका छन्। यो प्रवृत्तिलाई अल्फ्रेड वेंग्नरले ‘कन्टिनेन्टल ड्रिफ्ट’ भनेर पत्ता लगाए। कुनै समय पृथ्वीको सबै जमिनहरुसँगै थिए। उक्त भू–भागलाई पेन्जिया अर्थात् ‘सुपर कन्टिनेन्ट’भनिन्थ्यो। प्लेट टेक्टोनिक्सका कारण भू–भाग सर्दै गएपछि लारेन्सिया र गोन्डवानामा टुक्रिएको थियो।

दक्षिणी क्षेत्रमा बनेको गोन्डवाना टुक्रिएर अस्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाको भू–भाग बनेको थियो। यी मध्ये अस्ट्रेलिया टाढा थियो। जसका कारण प्रजातिहरुको बसाईसराई कम भयो। उनीहरु त्यहीको वातवरणमा अनुकुल हुँदै समयसँगै परिवर्तन हुँदै गए। जसका कारण जैविक विविधता पनि बढ्दै गयो। यसलाई विल्सन र म्याक अर्थरले इकोलोजीमा ‘आइलेन्ड बायोजिओग्राफी थेउरी’को रुपमा व्याख्या गरेका छन्।

‘ठूलो टापुमा जैविक विविधता पनि धेरै हुन्छ। प्रजाति लोप हुने दर पनि कम हुन्छ। यस्तै, जब कुनै दुईवटा टापुबीचको दूरी टाढा हुन्छ, प्रजातिहरुको बसाइसराई पनि कम हुँदै जान्छ। जसका कारण जैविक विविधता बढ्छ,’ उपप्राध्यापक डा. मनकुमार धमला भने, ‘भिन्नै किसिमको पर्यावरणीय अवस्था अनि तापक्रम, भूगोलमा प्रजातिहरु त्यही अनूकलता अनुसार आफूलाई परिवर्तन गर्छन्। यसका कारण फरक किसिमको अनूकलनता विकास हुन्छ र नयाँ जीवहरुको उत्पति हुन्छ। फरक जलवायू, भू–बनावटका, भूगोलका कारणले अस्ट्रेलियामा पाइने प्रजातिहरुमा परिवर्तन आएको हो।’

फरक किसिमको भौगोलिक अवस्थामा त्यही अनुसार आफूलाई परिवर्तन गर्दै लैजाँदा जीवहरुको क्रमिक विकासका क्रममा नयाँ प्रजातिहरुको विकास हुन्छ। धमलाले उदाहरण दिँदै भने, ‘अस्ट्रेलियामा कोअलाको संख्या धेरै हुनुमा यसले खाने यूक्यालेप्टस अन्य जीवहरुले नखाने भएको कारणले गर्दा हो। खानाको पर्याप्तता, ठूलो बासस्थान हुँदा विविधता त बढ्ने नै भयो। नयाँ नयाँ प्रजातिहरुको इभोलुसन भयो।’

त्यहाँको वातवरण तथा ऊर्जा विभागका अनुसार त्यहाँ १० लाख प्रजाति पाइन्छन्। अधिकांश त्यहाँका रैथाने छन्। दुई सय वर्षयता त्यहाँ भइरहेको बसाइसराई, जंगल फडानी, मानवीय अतिक्रमण, डढेलो, सुख्खा, खडेरी, बाढीले त्यहाँको पर्यावरणलाई असर गरेको विभागले जारी गरेको सूचनाहरुमा उल्लेख छ।

मानवीय अतिक्रमणका कारण ५० प्रजातिका स्तनधारी र चराचुरुंगी,४ प्रजातिका भ्यागुता र ६० भन्दा बढी प्रजातिका वनस्पतीहरू लोप भएको विभागले उल्लेख गरेको छ। हाल ३१० प्रजातिका रैथाने जीव र १ हजार १ सय ८० प्रजातिका वनस्पति लोप हुने संघारमा छन्।

साभार: कान्तिपुर


Share on

Habre Nepal